News तेस्रो मनसुन कप शुरु, युनाइटेडको विजयी शुरुवात
गोलनेपाल

इटहरी । शनिबारदेखि शुरु तेस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगितामा युनाइटेड क्लब अफ तरहराले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा तालतलैया फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै युनाइटेडले विजयी शुरुवात गरेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ युनाइटेडका लागि असिम राई र उत्सव राईले गोल गरे भने तालतलैयाका लागि धनजित धिमाल र रोमान तामाङले गोल गरेका थिए ।

टाईब्रेकरमा भने युनाइटेडले तालतलैयामाथि ४–२ को जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भयो । खेलमा युनाइटेडका गोलरक्षक प्रज्वल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत असार ३१ गते आइतबारको खेल फेयर फुटबल क्लब र शान्तीनगर फुटबल क्लब (बी) बीच हुने आयोजकले जानकारी दियो । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी सुनसरी जिल्ला फुटबल संघका महासचिव कोबिद जंग कार्कीले गरेका थिए ।

शान्तीनगर फुटबल क्लब, इटहरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५ हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल साउन ११ गतेका दिन हुने आयोजकले जानकारी दियो ।

Post Comments