बिराटनगर । एसईई कप अन्तरविद्यालय रनिङ शिल्ड फुटबल प्रतियोगितामा बुधबार चार खेलहरु सम्पन्न भएका छन् । दिनको पहिलो खेलमा लर्ड आई पब्लिक स्कुलले विनायक बोर्डिङ स्कुललाई ९–० को फराकिलो हरायो ।
थर्ड आईको जितमा आर्यन राई र सुजन नेपालीले २–२ गोल गरे भने सुशान्त चौधरी, अमन माझी, श्याम मलिक, रोजेश राना र रुबिन राईले समान १–१ गोल गरे । खेलमा थर्ड आईका सुशान्त चौधरी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा बिराट शिक्षा निकेतनले इढेन नेशनल बोर्डिङ स्कुललाई टाईब्रेकरमा ६–५ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ विराटका लागि रन्जित दनुवारले गोल गरे भने इडेनका लागि युकेश बस्नेतले गोल गरेका थिए । खेलमा बिराटका एलिस कार्की म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा डन बस्को बोर्डिङ स्कुलले प्यारागन एकेडेमीमाथि ९–० को एकतर्फी जित निकाल्यो । डन बस्कोको जितमा निकुश खतिवडाले ५ गोल गरे भने आशिष कामतले २ गोल गरे । त्यस्तै एलिस हास्दा र तनुज राजवंशीले समान १–१ गोल गरे । खेलमा डन बस्कोका निकुश खतिवडा म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै चौथो खेलमा आदर्श माविले जनता नमुना माविलाई ४–२ ले हरायो । खेलमा आदर्शका राहुल म्यान अफ द म्याच घोषित भए । पाँचौ खेलमा समता स्कुलले जेम्स इन्टरनेशनललाई ५–२ ले हरायो । खेलमा समताका छिरिङ शेर्पा म्यान अफ द म्याच चुनिए ।
सभ्य कला समाज, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ४५ विद्यालयका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने साउन १३ गतेका दिन हुने खेल संयोजक बिक्रम कार्कीले बताए ।