
बिराटनगर । एसईई कप अन्तरविद्यालय फुटबल प्रतियोगिता अन्तरगत बिहीबार पोखरिया मावि, प्रजातन्त्र मावि, दिल्ली पब्लिक स्कुल, स्काई इङलिस बोर्डिङ स्कुल र माउण्ट मनास्लु स्कुलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।
डनबस्को स्कुल, पोखरियाको खेलमैदानमा भएको पहिलो खेलमा पोखरियाले खनार मोडल एकेडेमीलाई ४–० ले हरायो । पोखरियाको जितमा निशान्त राय, अभिषेक कामत, लवन रिजाल र युनिस चौधरीले गोल गरे । खेलमा पोखरियाका निशान्त राय म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा प्रजातन्त्रले लालीगुराँस एकेडेमीलाई समान ४–० को हन्तरले हरायो । प्रजातन्त्रको जितमा रोशन सरदारले दुई गोल गरे भने धिरज उराव र ओम राजवंशीले एक–एक गोल गरे । खेलमा प्रजातन्त्रका लागि दुई गोल गरेका रोशन सरदार म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेलमा दिल्ली पब्लिकले देवकोटा पब्लिक स्कुलमाथि ६–० को फराकिलो जित दर्ता गर्यो । दिल्ली पब्लिकका लागि अभिषेक साहले चार गोल गरे । जिनिल बिष्ट र निराजन खड्काले एक–एक गोल गरे । खेलमा ह्याट्रिकसहित चार गोल गरेका दिल्ली पब्लिकका अभिषेक साह म्यान अफ द म्याच घोषित भए ।
चौथो खेलमा स्काईले अर्पन इङलिस स्कुललाई ३–१ ले पराजित गर्यो । स्काईको जितमा दिपेन कार्कीले २ तथा बिबेक राईले १ गोल गरे । उता पराजित अर्पनका लागि सुयोग अर्यालले एक मात्र गोल फर्काए । खेलमा पराजित अर्पनका अभिषेक मगर म्यान अफ द म्याच घोषित भए ।
त्यस्तै दिनको अन्तिम तथा पाँचौं खेलमा माउण्ट मनास्लुले नरग्राम माविलाई २–० ले निराश तुल्यायो । माउण्ट मनास्लुको जितमा सरोज चौधरी र अभय चौधरीले गोल गरे । खेलमा नरग्रामका सुप्रिम खड्का म्यान अफ द म्याच घोषित भए । बिहीबार जित हात पारेका पाँचै टोलीहरु दोस्रो चरणमा प्रवेश गरेका छन् ।
सभ्य कला समाज, बिराटनगर, मोरङको आयोजनामा जारी प्रतियोगितामा कुल ४५ विद्यालयका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको फाइनल खेल भने साउन १३ गतेका दिन हुने खेल संयोजक बिक्रम कार्कीले बताए ।