News चितलाङलाई तेस्रो मनसुन कपको उपाधि
गोलनेपाल

इटहरी । रोमाञ्चक जितका साथ तेस्रो मनसुन कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि चितलाङ फुटबल क्लब, काठमाडौंले जितेको छ । फाइनलमा पंचायन फुटबल क्लब, रामधुनीलाई सडन डेथमा हराउँदै चितलाङ च्याम्पियन बनेको हो ।

त्यसअघि बुढासुब्बा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ चितलाङका लागि दुवै गोल भुवन बस्नेतले गरे भने पंचायनका लागि बिक्रम खवास र तिर्थ बस्नेतले गरेका थिए । त्यसपछि टाईब्रेकरमा पनि नतिजा ननिस्किदा सडन डेथमा चितलाङले ५–४ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

विजेता बनेको चितलाङले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने उपविजेता पंचायले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । चितलाङका मनोज राई फाइनल खेलको म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद १ हजार र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक चितलाङका मनोज परियार चुनिए भने उत्कृष्ट डिफेन्डर पंचायनका अशोक खवास बने । उत्कृष्ट मिडफिल्डरको पुरस्कार चितलाङका अनिष चौधरीले हात पार्दा राईजिङ प्लेयर्स आयोजक शान्तिनगर एफसी (बी) का रोयल मगर घोषित भए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार चितलाङका भुवन बस्नेतले हात पारे । उत्कृष्ट बनेका सबैले जनही २–२ हजार र ट्रफी हात पारे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने चितलाङका उमेश कार्की बने । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारे ।

शान्तिनगर फुटबल क्लब, शान्तिनगर, इटहरीको आयोजनामा गत असार ३० गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएको आयोजकले जानकारी दियो ।

Post Comments