News बराह राइजिङलाई एसईई कपको उपाधि
गोलनेपाल

बिराटनगर । एसईई कप अन्तर विद्यालयस्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि बराह राइजिङ स्टारले जितेको छ । फाइनलमा बराह राइजिङले सत्य नारायण माविलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधि जित्न सफल भएको हो ।

बराह राइजिङको जितमा दुवै गोल कृष्ण पौडेलले गरे । विजेता बनेको बराह राईजिङले उपाधिसहित नगद पुरस्कार हात पार्यो भने उपविजेता सत्य नारायणले पनि नगदसहित सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

बराह राइजिङका आयुष मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उत्कृष्ट गोलरक्षक सनसाईन स्कुलका सुप्रिम सुबेदी घोषित भए भने उत्कृष्ट डिफेन्डर डन बस्को स्कुलका पृथु मान सिंह अधिकारी चुनिए । उत्कृष्ट मिडफिल्डर सत्य नाराण माविका भरत चौधरी बन्दा उत्कृष्ट फरवार्ड बराह राइजिङका प्रशान्त राई घोषित भए ।

उत्कृष्ट प्रशिक्षक पनि बराह राइजिङका आकाश राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार बराह राइजिङ कै रोहन राईले हात पारे । त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी युनिक एकेडेमीका धिरज उराव चुनिए । त्यसवापत उनले एक थान साइकल हात पारे ।

विजयी खेलाडीहरुलाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए । सभ्य कला समाज, बिराटनगर, मोरङको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल ४५ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments