News आहना र एनबिए क्वाटरफाइनलमा प्रवेश
सुरज राना मगर

तिलोत्तमा । आहना फुटबल क्लब र एनबिए क्लब जारी दोस्रो चपरहट्टी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

तिलोत्तमा–१, चपरहट्टी स्थित सिद्धार्थ खेलमैदानमा भएको दिनको पहिलो खेलमा आहनाले सञ्जिवनी युवा क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । आहनाका लागि मिलन आले र सुन्दर बगालेले गोल गरे । उता पराजित सञ्जिवनीका लागि मनिष पुनले एक मात्र गोल गरेका थिए । खेलमा आहनाका मिलन आले म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दिनको दोस्रो तथा अन्तिम प्रिक्वाटरफाइनलमा एनबिएले बलियो ओमसतियालाई शून्यका विरुद्ध १ गोलले हरायो । एनबिएका लागि बिपुल पुनले गरेको एक मात्र गोल टोलीलाई क्वाटरफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका एनबिएका गोलरक्षक मनोज राना म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन १७ गते बुधबारको पहिलो क्वाटरफाइनल खेल देवदह ब्वाईज र मदन भण्डारी स्पोर्टस एकेडेमीबीच हुनेछ भने दोस्रो क्वाटरफाइनलमा बेलबास क्लब र आयोजक चपरहट्टी एफसी भिड्ने खेल संयोजक देव गुरुङले जानकारी दिए ।

चपरहट्टी फुटबल क्लब, तिलोत्तमा–१, चपरहट्टीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४१ हजार हात पार्नेछ भने उपविजेताले २१ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष हिमाल सारुले बताए । फाइनल खेल यही साउन २१ गतेका दिन हुनेछ ।

 

Post Comments