News स्वीडेनमा पाँचौं एनआरएनए कप हुँदै
गोलनेपाल

काठमाडौं । एनआरएनए एनसीसी स्वीडेनको आयोजनामा आउँदो अगस्त २६ तारीखका दिन पाँचौं एनआरएनए कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलको माध्यमबाट भाईचारा, आत्मियता, एकता र मनोरञ्जन आदानप्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई यस वर्ष पनि निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्वीडेन बाहेक छिमेकी मुलुकहरु डेनमार्क र नर्वेका आप्रवासी नेपाली टोलीहरुको पनि सहभागिता रहने एनआरएनए स्वीडेनका महासचिव राजेन्द्र तामाङले जानकारी दिए । प्रतियोगितामा करिब १० टोलीहरुको सहभागिता रहने पनि महासचिव तामाङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ हजार स्वीडीस क्रोनर हात पार्नेछ भने उपविजेताले ७ हजार स्वीडीस क्रोनरसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि जनही ५–५ सय स्वीडीस क्रोनर प्रदान गरिने आयोजकले जानकारी दियो ।

त्यसैगरी सोही अवसरमा यु–१४ फुटबल प्रतियोगिताको पनि आयोजना गरिने आयोजकले जनाएको छ । जसमा ८ देखि १४ वर्ष उमेर समूहका बाल खेलाडीहरुले सहभागिता जनाउने एनआरएनए स्वीडेनका महासचिव राजेन्द्र तामाङले जानकारी दिए ।

Post Comments