News नव जीवनलाई राधाकृष्ण कपको उपाधि
सुरज राना मगर

बुटवल । राधाकृष्ण फुटबल क्लब, बुटवलको आयोजनामा सोमबार सम्पन्न राधाकृष्ण कप यु–१८ फुटबल प्रतियोगिताको उपाधि नव जीवन फुटबल क्लबले जितेको छ । फाइनलमा आयोजक राधाकृष्ण फुटबल क्लब (बी) लाई टाईब्रेकरमा हराउँदै नव जीवन च्याम्पियन बनेको हो ।

बुटवल–९ स्थित नयाँ बसपार्क खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ राधाकृष्णका लागि सुजल थापाले गोल गरे भने नव जीवनका लागि करन अधिकारीले गोल गरेका थिए । टाईब्रेकरमा भने नव जीवनले २–१ ले नतिजा आफ्नो पक्षमा पार्यो ।

विजेता बनेको नव जीवनले उपाधिसहित नगद २० हजार हात पार्यो भने उपविजेता राधाकृष्णले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । व्यक्तिगत विधातर्फ नव जीवनका ज्ञान बहादुर अधिकारी उत्कृष्ट गोलरक्षक घोषित भए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार राधाकृष्णका अमन थापाले हात पारे भने सर्वोत्कृष्ट खेलाडी पनि राधाकृष्ण कै सुजल थापाले प्राप्त गरे । विजयी खेलाडीहरुलाई बुटवल–१५ का वार्ड अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव राना, आयोजक राधाकृष्ण फुटबल क्लबका अध्यक्ष यम बराल, खेल संयोजक विश्वजित ताम्राकार लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments