News २१औं लिस्नु कप भदौ २३ देखि
गोलनेपाल

तिलोत्तमा । रुपन्देही कै प्रतिष्ठित र मोफसल कै पुरानो मध्ये एक लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको २१औं संस्करण यही भदौ २३ गतेदेखि शुरु हुने भएको छ । तिलोत्तमा–१५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो ।

स्व. जमान सिंह गुरुङको स्मृतिमा उनको श्रीमती कुमारी गुरुङ, छोराबुहारी विजय गुरुङ–नर्मदा गुरुङ तथा छोरीद्वय टिकमाया पुन र तनुजा गुरुङको मुख्य प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।

त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही २५–२५ हजार पुरस्कारको व्यवस्था गरिएको पनि अध्यक्ष मल्लले बताए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजारसहित ट्रफी हात पार्नेछ भने अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबका कोषाध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

त्यसैगरी प्रतियोगिताको टिकटदर पनि निर्धारण गरिएको छ । जसअन्तरगत पहिलो चरणको खेलहरुमा १०० रुपैयाँ टिकटदर तोकिएको छ भने सेमिफाइनल र फाइनलमा २०० तोकिएको छ । साथै सेमिफाइनल र फाइनलमा महिलाहरुलाई टिकटमा ५० प्रतिशत छुट गरिएको पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाउने बताइएको छ । यद्यपि सहभागि टिमहरुबारे भने खेलतालिका सार्वजनिक गरेरै जानकारी गराइने पनि आयोजकले जनाएको छ ।

खेलकुदसँगै विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहँदै आएको लिस्नु युवा क्लबले आफूलाई जिल्ला कै प्रतिष्ठित क्लबका रुपमा पनि उभ्याइसकेको छ । साथै क्लबले आफ्नो पहिचानलाई मोफसलदेखि राष्ट्रियस्तर मै चिनाउन प्रयासरत पनि रहेको क्लबका अध्यक्ष तिर्थराज मल्ले बताए ।

Post Comments