News राजेश स्मृतिलाई मदन भण्डारी कपको उपाधि
सुरज राना मगर

बुटवल । यहाँ सम्पन्न प्रथम मदन भण्डारी कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि राजेश स्मृति फाउण्डेशन, कपिलवस्तुले जितेको छ । फाइनलमा राजेश स्मृतिले सयपत्री युवा क्लबलाई हराउँदै उपाधि जितेको हो ।

शिवनगर सामुदायिक वनको खेलमैदानमा भएको उपाधि भिडन्तमा राजेश स्मृतिले सयपत्रीलाई शून्यका विरुद्ध १ गोलले हरायो । राजेश स्मृतिका लागि मनिष पुन मगरले एक मात्र निर्णायक गोल गरे र टोलीलाई च्याम्पियन बनाउन निर्णायक बने ।

विजेता बनेको राजेश स्मृतिले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेताले सयपत्रीले २६ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै व्यक्तिगत विधातर्फ पवन शाही उत्कृष्ट गोलरक्षक बन्दा सुरज थारुले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी होङ्गो गुरुङ घोषित भए ।

मदन भण्डारी स्र्पोटस एकेडेमी, बुटवल उपमहानगर कमिटीको आयोजनामा भएको प्रतियोगितामा कुल ३२ टोलीहरुले सहभागिता जनाएको आयोजक कमिटीका अध्यक्ष गौरव क्षेत्रीले बताए ।

Post Comments