News २४ औं निसर्ग हस्पिटल फुटबल प्रतियोगिताः कैलारी, सुर्मादेवी र सागर युवा क्लब विजयी
गोलनेपाल

कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ मा भईरहेको २४ औं निसर्ग हस्पिटल महिला तथा पुरुष फुटबल प्रतियोगितामा पुरुष तर्फका खेलहरुमा सागर युवा क्लब, कैलारी युथ युनाईटेड र सुर्मादेवी युवा क्लब विजयी भएका छन् । पहिलो खेलमा जित हात पारेसँगै तीन वटै क्लब दोस्रो चरणमा प्रवेश गरेका छन् ।

न्यु युवा सुन्दर शक्ती युवा क्लबको आयोजनामा थारु समुदायको पर्व अटवारी र हिन्दु नारीहरुको पर्व हरितालिका तिजको अवसरमा भईरहेको महिला तथा पुरुष फुटबल प्रतियोगिता अन्तर्गत पुरुष तर्फको पहिलो खेलमा सागर युवा क्लब विजयी भएको छ । सागर युवा क्लबले एबीसी ईन्जिनियरिङलाई हराएको हो । एबिसीलाई सागर युवा क्लबले २–० ले हरायो ।

पुरुष तर्फको दोस्रो खेलमा कैलारी युथ युनाईटेड विजयी भएको छ । कैलारी युथले चौधरी जागृति क्लबलाई हराएको हो । कैलारी युथले चौधरी जागृतिमाथि ४–१ को सानदार जित दर्ता गर्यो ।

कैलारी गाउँपालिका वडा नम्बर ४ के गाउँको खेल मैदानमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको तेस्रो खेलमा सुर्मादेवी युवा क्लब विजयी भयो । सुर्मादेवीले भजनी नगरपालिकाको टीमलाई हराएको हो । निर्धारित समयमा दुबै टीमले बराबरी खेलेपछि टाईब्रेकरमा सुर्मादेवीले बाजी मारेको हो ।
नकआउटका आधारमा भईरहेको प्रतियोगिताको पुरुष तर्फ २५ टीमको सहभागीता रहेको छ भने महिला तर्फ ६ टीमको सहभागीता रहेको छ । पुरुष तर्फको विजेताले नगद एक लाख सहित ट्रफी र उपविजेताले नगद ५० हजार सहित ट्रफी पाउने क्लबका अध्यक्ष बृक्षलाल चौधरीले जानकारी दिए । यस्तै महिला तर्फको विजेताले नगद २५ हजार सहित ट्रफी र उपविजेताले नगद १५ हजार सहित ट्रफी पाउने छन् ।

प्रतियोगिता असोज ३ गतेसम्म आयोजना हुनेछ । प्रतियोगिताको मुख्य प्रबद्र्धकमा कैलारी गाउँपालिका र सहप्रबद्र्धकमा कैलारी गाउँपालिका वडा नम्बर ४ को कार्यालय तथा मुख्य प्रायोजकमा धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ । वि.स. २०५७ सालदेखि न्यु युवा सुन्दर शक्ती युवा क्लबले अटवारी र तिजको अवसरमा फुटबल प्रतियोगिताका साथै मेलाको आयोजना गर्दै आएको छ ।

Post Comments