
सुकचर । प्रभावशाली जितका साथ कुसुमे साइनिङ क्लब, केराबारी, मोरङ यहाँ जारी तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
प्रतियोगिताको चौथो तथा अन्तिम क्वाटरफाइनलमा कुसुमेले पूर्वाञ्चल युनाइटेड क्लब, सुन्दरहरैचालाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउने अन्तिम टोली बन्न सफल भएको हो ।
बुढीगंगा खेलमैदानमा भएको खेलमा कुसुमेका लागि बिशाल लिम्बु, आमोश लिम्बु र नितेश लिम्बुले गोल गरे । पराजित पूर्वाञ्चलका लागि बिशाल मगरले एक मात्र सान्त्वना गोल फर्काए ।
खेलमा कुसुमे साइनिङका आमोश लिम्बु म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज ३ गते बुधबारको पहिलो सेमिफाइनल खेल आयोजक नवयुवा क्लब, सुकचर, बुढीगंगा, मोरङ र उदय फुटबल क्लब, धरान, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
नवयुवा क्लब सुकचर–११, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल असोज ६ गतेका दिन हुनेछ ।