News झापामा फागुन २१ देखि महिला गोल्डकप
रमेश समदर्शी

झापा । महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको चौथो सुखानी सहिद स्मृति गोल्डकप यहि फागुन २१ गतेदेखि सुरु हुने भएको छ ।

आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाले गोल्डकपको चौथो संस्करणको रुपमा यसपटक १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अर्जुनधारा ९ स्थित स्थानीय नमुना खेलमैदानमा हुने गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहने आयोजक प्रतिष्ठानका उपाध्यक्ष टंक भट्टराईले जानकारी दिए । उनका अनुसार झापाबाट २ टिम रहेका छन् भने इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी र मोरङबाट महिला टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यसवर्ष पुरस्कार राशिमा पनि २५ हजार बृद्धि गरिएको छ । यसपटक प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले नगद ७५ हजार पाउनेछ । त्यस्तै, प्रत्येक खेलको वुमन अफ दी म्याच बन्ने खेलाडीलाई नगद ३ हजार प्रदान गरिने उपाध्यक्ष भट्टराईले बताए ।

उनका अनुसार अन्य विधागत पुरस्कारतर्फ पनि राशि बृद्धि गरिएको छ । जसमा बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ । त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।

सहिदहरुको सम्मान, महिला खेलाडीलाई प्रोत्साहन भन्ने नाराका साथ हुन गईरहेको गोल्डकप सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको प्रतिष्ठानका व्यवस्थापक पुष्प तिवारीले बताए । गोल्डकपको तयारी ९० प्रतिशत पूरा भएको बताइएको छ भने गोल्डकप सम्पन्न गर्न विभिन्न ७ वटा उपसमिति गठन गरिएको छ ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने गोल्डकपमा सहभागी टिमका लागि आयोजकले खानासहित आवासको व्यवस्था गरेको सहिद स्मृति उद्यान अर्जुनधाराका अध्यक्ष टंकप्रसाद बरालले जानकारी दिए ।

Post Comments