News सहारालाई लुम्बिनी बिकास बैंकको सहयोग जारी
गोलनेपाल

पोखरा । देश कै नमूना फुटबल एकेडेमीका रुपमा सहारा क्लब पोखराद्वारा पोखरा १७ स्थित दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई लुम्बिनी बिकास बैंकले २ लाख २० हजार ८ सय रुपैयाँ नगद सहयोग गरेको छ ।

बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सहारा एकेडेमीलाई नगद सहयोग गरेको हो । उक्त सहयोग गर्न बैंकका पूर्व अध्यक्ष शुसिलराज पराजुलीले एकेडेमी पुगेर सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकम हस्तान्तरण गरे ।

सोही अवसरमा बैंकका पुर्व अध्यक्ष पराजुलीले एकेडेमीमा आश्रित बालकहरुलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । “सहाराले निकै राम्रो र उदाहरणिय कार्य गरेको छ” उनले भने– “त्यसैले हामीलाई सहारालाई संधै सम्झिरहने बाटो बनेको हो ।”

सहाराले समाजमा गरेको प्रशंसनिय कार्यले प्रभावित भई बैंकले निरन्तर सहयोग गर्दै जाने सोच बनाएको पुर्व अध्यक्ष पराजुलीले उल्लेख गरे । स्मरण रहोस, गत वर्ष समेत बैंकले करिव २ लाख ८० हजार सहयोग गरेको थियो ।

लुम्बिनी बिकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले उक्त सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजाका लागि खर्च गरिने बताए । उनले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको सहयोग एकेडेमीका लागि महत्वपूर्ण रहेको बताए ।

सो कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक प्रकाश पाहारी, महेन्द्रपुल शाखाका प्रवन्धक बलदेव बहादुर ढकाल, क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, क्लवका उपाध्यक्ष विश्व बराल, कोषाध्यक्ष राजुलालचन, सहारा युकेका सल्लाहकार चन्द्र गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

सहारा एकेडेमीमा हाल १४ जिल्लाका २४ जना कठिन एवम विपन्न परिस्थतीका बालकहरु रहेका छन । सहारा क्लब पोखराले उनीहरुको निःशुल्क आवासीय सुविधा, शिक्षासंगै फुटबल प्रशिक्षण दिंदै आएको छ ।

Post Comments