News बिमलको विदाई
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलमा परिचित नाम बनेको बिमल घर्ती मगरको परिचय पनि अब विदेश पलायनको सूचीमा थपिएको छ । २५ वर्षिय बिमलले पनि शुक्रबार धेरैलाई चकित पार्दै अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीका अधिकांश खेलाडीहरुको मुख्य गन्तव्य बन्दै गएको अष्ट्रेलिया पुग्ने नेपाली खेलाडीहरुको सूचीमा अब बिमल पनि थपिएका छन् । सम्भवत उनले त्यहाँ कम्युनिटी लेभलको फुटबल खेले पनि नेपालको फुटबलमा भने अब उनी ‘मिस’ हुनेछन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा घरेलु मैदान मै डेब्यु गरेका बिमलले त्यही प्रतियोगितामा पाकिस्तान विरुद्ध डेब्यु गोल पनि गरेका थिए । यसै वर्ष भारतमा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालको जर्सीमा अन्तिमपटक देखिएका बिमलले त्यो अन्तिम खेल पनि पाकिस्तान विरुद्ध नै खेले ।

देशका लागि सन् २०१५ मा साफ यु–१९ च्याम्पियनसिप जितेका बिमलले त्यसपछि सन् २०१६ मा सम्पन्न दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक पनि जिते । त्यसैवर्ष सिनियर टोलीका लागि बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप पनि जितेका बिमलको त्यो वर्ष अविष्मरणीय नै रह्यो ।

युवा उमेर मै युरोपका विभिन्न क्लबमा आफूलाई निखार्ने अवसर पाएका बिमलले त्यसपछि भारत कै आई लिगसँगै नेपालकै घरेलु फुटबलमा पनि आफुलाई परिपक्व र सफल बनाए । सम्भवत अब नेपाली फुटबल मैदानमा बिमलको नाम पक्कै गुञ्जिने छैन । गुञ्जिए पनि उनी देखिने छैनन् ।

स्मरण रहोस, बिमल कै ब्याचमा रहेका तेज तामाङ, रन्जन बिष्ट, दिनेश राजवंशी, हेमन्त थापा मगर जस्ता खेलाडीहरु पनि अष्ट्रेलिया मै छन् । त्यसो त राष्ट्रियस्तरका अधिकांश खेलाडीहरु अहिले अष्ट्रेलिया पुगिसकेका छन् । साथै अन्य देश पलायन हुने खेलाडीहरुको सूची पनि लामै छ ।

अब त्यो सूचीमा केवल बिमलको नाम मात्र थपिएको हो ।

Post Comments
Advertisement Yamaha Nepal