News ३५औं झरना कप शुरु, समपुर्णको विजयी शुरुवात
सुरज राना मगर

तिलोत्तमा । मोफसलको पुरानो मध्ये एक ३५औं झरना कप खुला नकआउट फुटबल प्रतियोगिता रुपन्देहीमा भव्यताका साथ शुरु भएको छ ।

तिलोत्तमा–६, कुञ्जलापुर स्थित उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा समपुर्णले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रलाई टाईब्रेकरमा ३–१ ले हरायो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ प्रहरीका लागि शैलेन्द्र चौधरीले गोल गरे भने समपुर्णका लागि सनम गुरुङले गोल गरेका थिए । खेलमा समपुर्णका गोलरक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै समपुर्ण क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज १४ गते आइतबारको खेल भूपू सैनिक जवई स्र्पोटिङ क्लब र लिस्नु युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

प्रतियोगिताको उद्घाटन भने एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँडले गरेका थिए । सो अवसरमा नगरपालिकाकी उपमेयर जागेश्वर देवी चौधरी, आयोजक क्लबका अध्यक्ष गंगा प्रसाद राना, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतको पनि उपस्थिति रहेको थियो ।

झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ७५ हजार प्राप्त गर्नेछ । फाइनल खेलभने असोज २८ गतेका दिन हुनेछ ।

Post Comments