News कुसुमेलाई तेस्रो सुकचर च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

सुकचर । तेस्रो सुकचर च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कुसुमे साइनिङ क्लब, केराबारी, मोरङले जितेको छ । फाइनलमा आयोजक नवयुवा क्लबलाई २–१ ले हराउँदै कुसुमे च्याम्पियन बनेको हो ।

बुढीगंगा खेलमैदानमा भएको उपाधि भिडन्तमा कुसुमेका लागि विकास परियार र विशाल चेम्जोङले गोल गरे । पराजित नवयुवाका लागि भने महेन्द्र कार्कीले एक मात्र सान्त्वना गोल फर्काए ।

कुसुमेका विशाल चेम्जोङ फाइनल खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ११०० र ट्रफी हात पारे । विजेता बनेको कुसुमेले उपाधिसहित नगद ५५ हजार हात पार्यो भने उपविजेता नव युवाले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

अन्य व्यक्तिगत विधातर्फ कुसुमे कै पुर्ण चेम्जोङ उत्कृष्ट गोलरक्षक चुनिए । नवयुवाका महेन्द्र कार्की उत्कृष्ट डिफेन्डर घोषित भए । कुसुमेका सन्देश आचार्य उत्कृष्ट मिडफिल्डर चुनिंदा कुसुमे कै प्रवेश बस्नेत उत्कृष्ट फरवार्ड बने ।

उत्कृष्ट प्रशिक्षक पनि कुसुमे कै दिपक भण्डारी घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार आयोजक नवयुवाका सागर चौधरीले हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि नवयुवा कै उमेश कार्कीले हात पारे ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५०० र ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी भने नवयुवाका रुपेश मार्झी घोषित भए । उनले त्यसवापत नगद २५०० र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई कोशी प्रदेशका पूर्व आर्थिक तथा योजना मन्त्री जिवन आचार्य लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

नवयुवा क्लब सुकचर ११, बुढीगंगा–६, सुकचर, मोरङको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments