News एट टु नाइन कप सुरु
उमेश पुन

पोखरा । `युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यको लागि खेलकुद´ भन्ने मुल नाराका साथ प्रथम एट टु नाइन कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

एट टु नाइन गाइजको आयोजनामा पोखरा १३ माछापोखरी फुटबल मैदानमा सुरु भएको खेलको पहिलो दिन एक वाकओभर तथा पाँच खेल सम्पन्न भए । प्रतियोगिताको उद्घाटन तथा पहिलो दिनको चौथो  खेलमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेडले मिलनटोल एफसीलाई २-१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो खेलमा भुजुङ एफसीले आयोजक एट टु नाइनलाई ४-० गोल अन्तरले पाखा लगायो । दोस्रो खेलमा कमलपोखरीले मालेपाटनलाई ४-० गोलले हरायो । तेस्रो खेलमा ए सेभेन ब्रदर्सले कटपा एफसीलाई ५-१ गोल अन्तरले पाखा लगायो । पाचौ खेलमा एनवाईसी यएरपोर्टले वाकओभर पायो । कुमागाने एफसीले सहभागिता नजनाएपछी वाक ओभर पाएको हो ।

पहिलो दिनको अत्यन्तै प्रतिस्पर्धात्मक बनेको अन्तिम खेलमा पसगाउले रबै एफसीलाई टाइब्रेकरमा ३-२ गोलले हराउन सफल भयो । निर्धारित २०-२० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिका वडा १३ का वडा अध्यक्ष किरण बरालले प्रतियोगितालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले वडा १३ मा एक मात्र  माछापोखरी खेलमैदान रहेको र यसलाई संरक्षण गर्न स्थानीय युवा तथा क्लबहरु लागिपरेको बताउदै खेल प्रतियोगितालाई निरन्तरता दिन अनुरोध गरे ।

एट टु नाइनका उपाध्यक्ष तथा प्रतियोगिताका व्यवस्थापक धनराज तामाङले फुटसल खेल्दै जमघट भएको समुहले फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments
Advertisement Yamaha Nepal