News चितवन, एनआरटी, नागस्वती (ए) र (बी) भेट्रान्स सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । चितवन भेट्रान्स, एनआरटी भेट्रान्स, र आयोजक नागस्वती भेट्रान्सका ए र बी दुवै टोली यहाँ जारी दोस्रो नागस्वती भेट्रान्स कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

हेटौडा–७ स्थित नवज्योति खेलमैदानमा भएको पहिलो क्वाटरफाइनलमा चितवनले जोरपाटी भेट्रान्सलाई २–१ ले हरायो । खेलमा चितवन भेट्रान्सका प्रेम बहादुर गुरुङ म्यान अफ द म्याच घोषित भए ।

दोस्रो क्वाटरफाइनलमा एनआरटीले दावेदार मानिएको बगर भाई खलकलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा विपक्षी टोलीको पेनाल्टी जोगाएका एनआरटीका गोलरक्षक तुल्सी बज्यु म्यान अफ द म्याच चुनिए ।

तेस्रो क्वाटरफाइनलमा आयोजक नागस्वती (ए) ले अभिषेक चर्चलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलमा नागस्वती (ए) का गोलरक्षक दिलिप क्षेत्री म्यान अफ द म्याच चुनिए ।

त्यस्तै चौथो तथा अन्तिम क्वाटरफाइनलमा नागस्वती (बी) ले सिलिंकलाई २–० ले हरायो । खेलमा नागस्वती (बी) का कन्या सुब्बा गुरुङ म्यान अफ द म्याच चुनिए ।

नागस्वती भेट्रान्स क्लब, हेटौडा–७, नागस्वतीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही असोज २० गतेका दिन हुनेछ ।

Post Comments