News ज्योतिपुञ्ज कप शुरु, भैरवको विजयी शुरुवात
सुरज राना मगर

रामपुर । पाल्पा जिल्ला कै प्रतिष्ठित मध्ये एक बन्ने उद्देश्यका साथ ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा सोमबारदेखि प्रथम ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिता भव्यताका साथ शुरु भएको छ ।

रामपुर–७ स्थित आयोजक कै ज्योजितपुञ्ज खेलमैदानमा भएको उद्घाटन खेलमा भैरव स्पोर्टस क्लब, नवलपरासीले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा भैरवले होराइजन क्लब, स्याङ्जालाई शून्यका विरुद्ध १ गोलले हरायो ।

दोस्रो हाफको आठौं मिनटमा कप्तान कमल भट्टराईले विपक्षी पोष्ट नजिकैबाट गरेको सटिक प्रहार खेलको निर्णायक गोलमा परिणत भएको थियो । निर्णायक गोलकर्ता भैरवका कमल भट्टराई नै म्यान अफ द म्याच चुनिए ।

यो जितसँगै बाई पाएको भैरव सोझै सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत असोज २३ गते मंगलबारको खेल न्यु युथ युनियन क्लब, पाल्पा र देवदह ब्वाईज, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन प्रमुख अतिथी माननीय सामाजिक विकास मन्त्री चन्द्र केस गुप्ता, आयोजक ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदिप गौतम, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव जयप्रकाश भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय विरजंग राणा लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

सो अवसरमा राष्ट्रिय कलाकार बद्री पंगेनीको मनोरञ्जनात्मक प्रस्तुत पनि दिएका थिए । फुटबलको माध्यमबाट राामपुर, पाल्पा धार्मिक, साँस्कृतिक, पर्यटकीय र अन्य विविध पक्षका कारण पनि देशकै नमूना नगरका रुपमा रहेको भनी चिनाउन प्रतियोगिताले थप बल पुग्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले विश्वास व्यक्त गरे ।

यही असोज २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

Post Comments
Advertisement Yamaha Nepal