News न्यु युथ युनियन सेमिफाइनलमा
सुरज राना मगर

रामपुर । संघर्षपुर्ण जितका साथ न्यु युथ युनियन क्लब, पाल्पा यहाँ जारी ज्योतिपुञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बाई पाएर सोझै क्वाटरफाइनल खेल्ने अवसर पाएको न्यु युथ युनियनले मंगलबार देवदह ब्वाईज, रुपन्देहीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो ।

त्यसअघि रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेलमैदानमा भएको निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा न्यु युथ युनियनको जितमा निर्णायक भूमिका खेलेका गोलरक्षक दिपेश परियार म्यान अफ द म्याच घोषित भए ।

त्यसैगरी मंगलबार नै भएको पहिलो प्रिक्वाटरफाइनलतर्फ भिमाद युथ क्लब, तनहुँले चापाकोट युनाइटेड, स्याङ्जालाई २–० ले हरायो । भिमादको जितमा कप्तान बिनोद घिमिरे र बिशाल गुरुङले गोल गरे ।

खेलमा भिमाद कै बिनोद घिमिरे म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत असोज २४ गते बुधबार पनि दुई क्वाटरफाइनल खेलहरु हुने खेल संयोजक अनिल शाही ठकुरीले बताए ।

पहिलो खेलमा दिनको १ बजे आयोजक ज्योतिपुञ्ज युवा क्लब (रातो) र फर्साटिकर युवा क्लब रुपन्देही भिड्ने छन् भने ३ बजे हुने दोस्रो खेलमा भिमाद युथ क्लब र ज्योतिपुञ्ज युवा क्लब (सेतो) भिड्ने खेल संयोजक ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५ हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुदिप गौतमले जानकारी दिए । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने असोज २८ गतेका दिन हुनेछ ।

Post Comments