News ह्वाईट लोटस फाइनलमा
सुरज राना मगर

बुटवल । ह्वाईट लोटस क्लब यहाँ जारी स्व. गंगा कुमारी मल्ल स्मृति आदर्श कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको पहिलो सेमिफाइनलमा ह्वाईट लोटसले आयोजक आदर्श युवा क्लब (बी) लाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

बुटवल–१५ उजेलापुर स्थित आयोजक क्लब कै खेलमैदानमा भएको खेलमा ह्वाईट लोटसका लागि दुवै गोल प्रवेश गुरुङले गरे । पराजित आदर्शका लागि दिपेश थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा ह्वाईट लोटसका प्रवेश गुरुङ नै म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोमबार नै हुने भनिएको दोस्रो सेमिफाइनलतर्फ आदर्श युवा क्लब (ए) र शान्तिदिप युवा क्लबबीचको खेल खराब प्रकाशका कारण दोस्रो हाफतर्फ स्थगित गरिएको र सो खेल मंगलबार बिहान फेर खेलाइने आयोजक क्लबका अध्यक्ष मनिष काफ्लेले बताए ।

साथै प्रतियोगिताको फाइनल खेल पनि मंगलबार दिउँसो २ बजेदेखि शुरु हुने अध्यक्ष काफ्लेले जानकारी दिए । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २३ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments