
काठमाडौं । दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा स्तब्ध बनेको छ ।
भरत खवासको कप्तानीमा अधिकांश दोस्रो रोजाईका खेलाडी लिएर उत्रिएको आर्मी मध्यपुर जागरुक युवा क्लबसँग शून्यका विरुद्ध १ गोलले पराजित हुन पुगेको हो ।
नैकाप खेलमैदानमा भएको खेलमा मध्यपुर जागरुकका लागि सुमन डंगोलले एक मात्र निर्णायक गोल गरे । खेलमा म्यान अफ द म्याच भने मध्यपुर जागरुक कै सोनित दाहाल घोषित भए ।
त्यस्तै अर्को खेलमा भिमसेन युथ क्लबले किटिनी भञ्ज्याङ युथ क्लबलाई ३–० ले हरायो । भिमसेनको जितमा अनिल बलामी, आशिष सुब्बा र अमर लामाले गोल गरे । खेलमा भिमसेन युथका कपिल सापकोटा म्यान अफ द म्याच घोषित भए ।
चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल आउँदो कार्तिक २५ गतेका दिन हुनेछ ।