News सपर लिग शुरु नहुँदै चितवनबाट अलग भए जमिल
गोलनेपाल

काठमाडौं । नेपाल सुपर लिग क्लब एफसी चितवनका भारतीय प्रशिक्षक खालिद जमिल एनएसएलको दोस्रो संस्करण शुरु नहुँदै क्लबबाट अलग भएका छन् । चितवनले आइतबार एक वत्तव्य जारी गर्दै ४६ वर्षिय जमिलसँगको सम्झौता आपसी सहमतिमा रद्द गरिएको बताएको छ ।

स्मरण रहोस, चितवनले नेपाल सुपर लिग कै लागि भनेर गत महिना मात्र जमिललाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको कुरा घोषणा गरेको थियो । यद्यपि लिग शुरु नहुँदै चितवन फेरि मुख्य प्रशिक्षकविहीन बनेको छ ।

भारतमा ईष्ट बंगाल, मोहन बगान, नर्थइष्ट युनाइटेड, बैंगलुरु जस्ता क्लबहरुको प्रशिक्षकीय जिम्मेवारी सम्हालिसकेका जमिललाई यसपटक नेपाल सुपर लिगमा राम्रा प्रशिक्षकहरु मध्ये एकमा हेरिएको थियो । तर उनको त्यो फुटबल रणनीति यसपटक एनएसएलमा देख्न नपाइने भएको छ ।

यसपटक चितवनको मार्की खेलाडीमा राष्ट्रिय गोलरक्षक बिशाल श्रेष्ठ रहेका छन् । स्मरणीय छ, नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो मंसिर ८ गतेदेखि शुरु हुने कार्यक्रम तय भईसकेको छ ।

Post Comments