News मध्यपुर र कुर्दन क्वाटरफाइनलमा
गोलनेपाल

काठमाडौं । मध्यपुर जागरुक युथ क्लब र कुर्दन फुटबल एकेडेमी यहाँ जारी छैठौं नैकाप गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नैकाप खेलमैदानमा भएको पहिलो खेलमा मध्यपुर जागरुकले क्लिन भिजन युनिटी क्लबलाई टाईब्रेकरमा ४–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ मध्यपुरका लागि सुमन डंगोलले गोल गरे भने क्लिन भिजनका लागि युवराज ढकालले गोल गरेका थिए । खेलमा मध्यपुर जागरुकका गोलरक्षक सोनम वाइबा म्यान अफ द म्याच चुनिए ।

त्यस्तै अर्को खेलमा कुर्दनले विजयपुर युथ क्लबमाथि ७–१ को फराकिलो जित निकाल्यो । कुर्दनको जितमा म्यान अफ द म्याच समेत घोषित अविरल रिजालले चार गोल गरे । जनक कोइराला, एरुज सिंह र रुजित पुडासैनीले एक–एक गोल गरे । पराजित विजयपुरका लागि रिजेन खड्काले एक मात्र सान्त्वना गोल फर्काए ।

चन्द्रागिरी स्पोर्टस एकेडेमी, चन्द्रागिरी–१४, नयाँ नैकाप, काठमाडौंको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही कार्तिक २५ गतेका दिन हुनेछ ।

Post Comments