News रामधुनी राजाबास च्यालेञ्ज कपको क्वाटरफाइनलबार
गोलनेपाल

राजाबास । कठिन जितका साथ रामधुनी आदर्श फुटबल क्लब यहाँ जारी २२औं राजाबास च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको तेस्रो प्रिक्वाटरफाइनलतर्फ रामधुनीले हाटखोला फुटबल क्लबलाई सडन डेथमा हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो । त्यसअघि सरस्वती माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ रामधुनीका लागि हरि कार्कीले गोल गरेका थिए भने हाटखोलाका लागि आकाश राईले गोल गरेका थिए । त्यसपछि टाईब्रेकरमा पनि नतिजा निस्किन नसक्दा सडन डेथमा रामधुनी १२–११ विजयी बन्न सफल भएको हो ।

खेलमा रामधुनीका मनिष माझी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत कार्तिक १६ गते बिहीबारको चौथो प्रिक्वाटरफाइनल खेल आयोजक राजाबास युथ क्लब र चतरा फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

राजाबास युथ क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३५ हजार प्राप्त गर्नेछ । फाइनल खेल कार्तिक २४ गतेका दिन हुनेछ ।

Post Comments