News आयोजक गोरखलाई भेट्रान्स कपको उपाधि
रमेश समदर्शी

समालबुङ, (इलाम) । ‘नो टु ड्रग्स’ भन्ने सन्देश दिन गोरख टोल विकास संस्था समालबुङ, इलामले आयोजना गरेको प्रथम गोरख भेट्रान्स कप फुटबलको उपाधि आयोजकले जितेको छ ।

सूर्योदय नगरपालिका ५ समालबुङस्थित गोरखको सामसुङ मेमोरियल खेलमैदानमा शनिबार भएको फाइनल खेलमा एमसीसी फिक्कल भेट्रानलाई ३-० गोलअन्तरले पराजित गर्दै आयोजक गोरख भेद्रान क्लबले उपाधि रक्षा गरेको हो ।

आयोजकका लागि दिपेन राईले २ गोल र सुरजकुमार श्रेष्ठले १ गोल गरे । उद्घाटन खेलमा ह्याट्रिक पूरा गरेका दिपेन राई सर्वाधिक गोलकर्ता पनि बने । फिक्कले अनेक प्रयास गर्दा पनि गोल फर्काउन नसक्दा उपविजेतामा समेटियो ।

आयोजकले नगद ४० हजार र ट्रफी पाउँदा उपविजेता फिक्कलले नगद २० हजार र ट्रफीमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजकका गोलरक्षक रामनारायण चौधरी भए ।

यसअघि भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले दमक लखनपुर भेट्रान्स फुटबल क्लब झापालाई २-० गोलमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । आयोजकका लागि कप्तान विकास बम्जनले दुवै गोल गरेका थिए ।

यस्तै, अन्तिम सेमिफाइनल खेलमा फिक्कलले इलाम भेट्रान क्लबलाई १-० गोलको कठिन जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । उसका लागि धिरज ठकुरीले गरेको गोल नै निर्णायक बनेको थियो ।

२ दिनसम्म चलेकाे प्रतियाेगितामा झापा, इलाम, पाँचथर र भारतकाे गरी ८ टिम सहभागी रहेकाे थियाे ।
 
Post Comments