
घोराही । लुम्बिनी प्रदेशको दाङमा सञ्चालित लुम्बिनी फुटबल एकेडेमीमा प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका युवा खेलाडीले युरोपको डेनमार्कमा हुने प्रतिष्ठित डाना कपमामा खेल्ने भएका छन् ।
आउँदो साउन ५ गतेदेखि अर्थात् २०२५ जुलाई २१ तारिखबाट शुरु हुने डेनमार्कको पुरानो र प्रतिष्ठित डाना कपमा सहभागिता जनाउन लुम्बिनी फुटबल एकेडेमीबाट १२ खेलाडी र ३ अफिसियल गरी १५ जनाको टोली जान लागेका एकेडेमीका अध्यक्ष समिर वलीले बताए ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जान लागेका खेलाडीमा एकेडेमीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण दिँदै आएको रामकरण सदासहित प्रितम बुढा, प्रनम्य फिलोस शाही, आशिष नाथ, सक्षम पुन मगर, ग्रिष्म चौधरी, विकास पुरी, आशुतोष भण्डारी, नवीन वली, अग्रम्शु प्रोस्पर घिमिरे, मेरिस चौधरी र सञ्जय वली रहेका छन् ।
प्रतियोगितामा सहभागि हुने सबै खेलाडी, अफिसियलको जाने आउने टिकट खर्च आफै व्यहोर्ने एकेडेमीले जनाएको छ । यद्यपि पूर्ण छात्रवृत्तिमा प्रशिक्षण लिईरहेका रामकरण सदाको सबै खर्च भने एकेडेमीले नै व्यहोर्ने एकेडेमी अध्यक्ष वलीले जानकारी दिए ।
सन् १९८२ देखि निरन्तर आयोजना हुँदै आएको डाना कपमा यसपटक पनि ५० बढी देशबाट १ हजार बढी खेलाडीहरु सहभागि हुने बताइएको छ । लिग चरणमा हुने खेलमा नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी फुटबल एकेडेमीका युवा टोलीले खेल्नेछ ।
स्थानीय स्तरमा खेल खेल्दै आएका खेलाडीहरुको मनोबल बढाउन तथा अन्तर्राष्ट्रिय खेल मैदानमा सहभागी गराउँदै खेलाडीको खेल क्षमता उजागर गर्न यस प्रकारको प्रतियोगिता निकै महत्वपूर्ण हुने एकेडेमीका अध्यक्ष वलीले बताए ।
करिव ३ वर्ष अघि स्थापना भई सञ्चालनमा आएको लुम्बिनी फुटबल एकेडेमी निजि स्तरबाट सञ्चालित लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीका रुपमा परिचित छ । घोराही १७ गैरागाउँस्थित आफ्नै निजि खेल मैदानमा फुटबल प्रशिक्षण गराउँदै आएको एकेडेमीले खेलकुद क्षेत्रको विकासका साथै समाजमा आर्थिक र सामाजिक रुपमा पछाडि परेका बालबालिकाहरुलाई अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।