News सहाराको यात्रा समाप्त, पुलिस सेमिफाइनलमा
गोलनेपाल

पोखरा । जारी १८औं आहा ! रारा गोल्डकपमा आयोजक सहारा क्लब, पोखराको यात्रा क्वाटरफाइनलबाटै समाप्त भएको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस क्लबसँग पेनाल्टी शुटआउटमा ४–२ को हार बेहोर्यो ।

यसअघि पोखरा रंगशालामा भएको निर्धारित समयको खेल र थपिएको अतिरिक्त समयको खेलमा पनि दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

खेलको ७५औं मिनटमा भरत साहको गोलबाट पुलिसले खेलमा अग्रता बनाएको थियो । यद्यपि अन्तिमतिर इन्जुरी समयको ९०+४औं मिनटमा अजय श्रेष्ठले सहाराका लागि रोमाञ्चक बराबरी गोल फर्काएका थिए ।

त्यस्तै खेलको अतिरिक्त समयतर्फ ११९औं मिनटमा पुलिसका भोला सिलवालले रातो कार्ड खाँदै मैदान छाडेपछि, विभागीय टोली दश खेलाडीमा सिमित हुन पुगेको थियो । यद्यपि घरेलु टोलीले त्यो अन्तिम समयको फाईदा उठाउन भने सकेन । यो जितसँगै पुलिस सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

खेलमा पुलिसका रोशन खड्का म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत फागुन २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र झापा–११ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।

सहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments