News एक्टिभ ब्वाईजलाई उपाधि
गोलनेपाल

दोलखा । दोलखा जिल्ला फुटबल सङ्घले आयोजना गरेको बागमती क्लब स्तरीय प्रथम खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि एक्टिभ ब्वाईज क्लब, खरीढुङ्गाले जितेको छ । फाइनल खेलमा एक्टिभ ब्वाईजले लालीगुँरास युवा क्लब, चरिकोटलाई २– १ को अन्तरले पराजित गर्दै विजेता बन्न सफल भएको हो ।

विजेता बनेको एक्टिभ ब्वाईजले उपाधिसहित नगद २ लाख ५० हजार हात पारेको छ भने उपविजेता लालीगुराँसले १ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी लालीगुराँसका मोहन गुरुङ घोषित भए । उनले पुरस्कार वापत नगद ७५०० सहित ट्रफी हात पारे । उत्कृष्ट गोलरक्षक एक्टिभका नविन सिलवाल बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार सिन्धुपाल्चोकका अजय तामाङले हात पारे ।

त्यस्तै उत्कृष्ट प्रशिक्षक एक्टिभका मनोज श्रेष्ठ चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार हात पारे । विजयी खेलाडीहरुलाई दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डे, बागमती प्रदेश सांसद कुन्दनराज काफ्ले, भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकर लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ र नुवाकोटका गरी ११ टिमहरुको सहभागिता रहेको आयोजक दोलखा जिल्ला फुटबल संघका अध्यक्ष कौरव पाण्डेले बताए ।

Post Comments
Advertisement Yamaha Nepal