News हाम्रो इटहरी र बरमियोक–नामफिङ सेमिफाइनलमा
गोलनेपाल

राजारानी । हाम्रो इटहरी भेट्रान, इटहरी र बरमियोक–नामफिङ भेट्रान, सिक्किम, भारत यहाँ जारी प्रथम ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण रारा भेट्रान गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राजारानी खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ हाम्रो इटहरी भेट्रानले लखनपुर भेट्रान, दमक, झापालाई ३–० ले हरायो । हाम्रो इटहरीका लागि भुपेन्द्र लिम्बु, सन्तोष राई र दिपेन राईले गोल गरे । खेलमा हाम्रो इटहरीका अंकुर खड्गी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे ।

त्यस्तै चौथो क्वाटरफाइनलमा बरमियोक–नामफिङले एभरेष्ट भेट्रान, मोरङलाई २–१ ले हरायो । बरमियोक–नामफिङका लागि रमेश क्षेत्री र दावा भुटियाले गोल गरे । पराजित एभरेष्टका लागि जनक सुनुवारले गोल फर्काएका थिए । खेलमा बरमियोक–नामफिङका भुपेन्द्र खेवा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५००० र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत मंसिर १३ गते बुधबार हुने दुई सेमिफाइनलतर्फ दुधे भेट्रान, झापाले हाम्रो इटहरी भेट्रान, सुनसरीको सामना गर्नेछ भने बिराट मेघा भेट्रान, बिराटनगरले बरमियोक–नामफिङ भेट्रान, सिक्किमसँग खेल्नेछ ।

रारा भेट्रान, राजारानी, धनकुटाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१११ रुपैयाँ प्राप्त गर्नेछ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही मंसिर १४ गतेका दिन हुनेछ ।

 

Post Comments