News तिजोकलाई इम्बुङमा फुटबलको उपाधि
रमेश समदर्शी

इम्बुङ (पाँचथर) । पाँचथरको टु स्टार ग्रामीण सिर्जनशील क्लब इम्बुङले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि तिजोक युवा क्लब नवमी डाँडाले जितेको छ ।

फाल्गुनन्द गाउँपालिका २ स्थित सत्यहाङ्मा माविको इनम खेल मैदानमा बुधबार भएको फाइनल खेलमा आयोजक टु स्टार (सेतो)लाई १-० गोलअन्तरले पराजित गर्दै तिजोकले उपाधि रक्षा गरेको हो ।

साविक विजेता टु स्टारलाई स्तब्ध बनाउन दिपेश राईको गोल निर्णायक बन्यो । खेलको इन्ज्युरी समयमा तिजोक दिपेश राई नायक सावित भए । उनी म्यान अफ दी म्याचसँगै सर्वाधिक गोलकर्ता पनि बने ।

१६ वटा टोली सहभागी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी टु स्टारका गोलरक्षक दिवस नेम्बाङ भए । यस्तै, उत्कृष्ट रक्षक टु स्टारकै सुदिप नेम्बाङ भए । उत्कृष्ट गोलरक्षक भने तिजाकका गोलरक्षक सौगात आङदेम्बे भए ।

विजेता तिजोकले नगद १ लाख ५ हजारसहित आकर्षक ट्रफी पायो । उपविजेता आयोजकले नगद ६५ हजारमा चित्त बुझाएको छ ।

टु स्टारले ऐतिहासिक बराहक्षेत्र कार्तिके पूर्णिमा मेलाको अवसरमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

विजेता तथा उपविजेता टोलीलाई गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, २ नम्बर वडाध्यक्ष सन्तोषकुमार नेम्बाङ र दोस्रो पुरस्कारदाता सुबास सिंगरलगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

Post Comments