News ९औं ओसन यु–१३ स्कुल लिगः समूह चरणको खेलहरु सम्पन्न
गोलनेपाल

दलभञ्ज्याङ । ‘गोरखा मेयर युवा फुटबल विकास परियोजना’ अन्तर्गत जारी ९औं ओसन यु–१३ स्कुल लिग फुटबल प्रतियोगिताको समुह चरणको खेलहरु सम्पन्न भएका छन् । शनिबार लिगको पाँचौं सप्ताहको खेलहरु सम्पन्न भएसँगै समूह चरणको खेलहरु पनि सम्पन्न भएको हो ।

स्व. इमान बहादुर स्मृति खेलमैदान (ओसन टर्फ) मा भएको समूह चरणको अन्तिम खेलहरुतर्फ पहिलो खेलमा द ओल्ड क्यापिटल मावि र मोर्डन सेकेण्डरी इङलिस बोर्डिङले १–१ को बराबरी खेले । द ओल्ड क्यापिटलका लागि सुलभ परियारले गोल गर्दा मोर्डन सेकेण्डरीका लागि बिकेश सिर्मलले गोल गरेका थिए ।

दोस्रो खेलमा महालक्ष्मी माविले सरस्वती माविलाई २–० ले हरायो । महालक्ष्मीका लागि दुवै गोल सन्दिप सिर्मलले गरे । तेस्रो खेलमा द ओसन क्लब र सुर्यमुखि बोर्डिङ स्कुलले १–१ गोलको बराबरी खेले । द ओसनका लागि अप्सन केसीले गोल गरे भने सुर्यमुखिका लागि मन्जिल कुमालले गोल गरे ।

चौथो खेलमा नवज्योति माविले रत्न लक्ष्मी माविलाई ५–० को फराकिलो अन्तरले हरायो । नवज्योतिका लागि प्रकाश मग्रातीले ह्याट्रिक गरे भने विश्व श्रेष्ठ र बेन्जामिन गुरुङले थप एक–एक गोल गरे ।

त्यस्तै साताको अीन्तम खेलमा द ओल्ड क्यापिटल माविले सरस्वती माविलाई ८–० को फराकिलो अन्तरले हरायो । द ओल्ड क्यापिटलका लागि विपन गुरुङले चार गोल गर्दा डाइमण्ड गुरुङले ३ गोल गरे । थप एक गोल भने प्रज्वल थापा मगरले गरे ।

समूह चरणको खेलहरु सम्पन्न भएसँगै समुह ए बाट महालक्ष्मी मावि र समूह बी बाट लक्ष्मी सामुदायिक शिक्षा सदन समूह विजेताका रुपमा सुपर सिक्समा प्रवेश गरेका छन् । त्यस्तै द ओल्ड क्यापिटल मावि, रत्नराज्य मावि, द ओसन क्लब र नवज्योति माविले पनि सुपर सिक्समा स्थान पक्का गरेका छन् ।

त्यसैगरी समूह ए बाट सरस्वती मावि र मोर्डन बोर्डिङ तथा समूह बी बाट सुर्यमुखि बोर्डिङ र रत्नलक्ष्मी माविले सुपर प्लेट प्लेअफमा स्थान सुरक्षित गर्न सफल भएका छन् ।

गोरखा नगरपालिका भित्रका कुल ९ विद्यालयहरुको सहभागिता रहेको लिग प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५०० हात पार्नेछ भने उपविजेताले ३५०० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै प्लेट च्याम्पियन बन्ने टोलीलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments