News एनएसएलः ललितपुरलाई रोक्दै बिरगंजलाई पहिलो अंक
गोलनेपाल

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ अंकविहीन रुपमा संघर्ष गरिरहेको नवप्रवेशी टोली बिरगंज युनाइटेड फुटबल क्लबले मंगलबार आफ्नो खातामा पहिलो अंक जोडेको छ ।

दशरथ रंगशालामा भएको एक मात्र खेलमा यस सिजनको दावेदार मध्ये एकका रुपमा हेरिएको ललितपुर सिटी फुटबल क्लबलाई २–२ गोलको रोमाञ्चक बराबरी रोक्दै बिरगंजले पनि लिगतालिकामा खाता खोलेको हो ।

खेलमा शुरुवाती अग्रता पनि बिरगंजले लिएको थियो । खेलको दशौं मिनटमा विलियम ओपोकुको गोलबाट बिरगंजले खेलमा अग्रता बनायो । तर, लगतै लगातार दुई गोल खान पनि पुग्यो ।

ललितपुरका लागि १३औं मिनटमा इमोह इजेकिलले बराबरी गोल फर्काए भने २७औं मिनटमा निखिल कदमले ललितपुरका लागि दोस्रो गोल गर्दै पाटने क्लबलाई खेलमा अग्रता दिलाए ।

पहिलो हाफसम्म ललितपुरले सोही अग्रता कायम पनि राख्यो । तर दोस्रो हाफको ५२औं मिनटमा कृपाकान्त थारुले बिरगंजका लागि दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा बिरगंजका विलियम ओपोकु म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार र ट्रफी हात पारे ।

Post Comments