News शेर्पालाई स्तब्ध पार्दै कर्णसिं सोनाम सेमिफाइनलमा
रमेश समदर्शी

पाँचथर । ए डिभिजन क्लब हिमालयन शेर्पालाई रोक्दै ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लब फिदिममा जारी प्रथम किरात गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङको जितसँगै गोल्डकपको सेमी समिकरण पनि पूरा भएको छ । आज फिदिम माविको मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा ताप्लेजुङले हिमालयन शेर्पालाई ४-३ गोलअन्तरले पराजित गरी अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

खेलको ३ मिनेटमै ताप्लेजुङका मन्जित येङ्देनले गोल गरेर सुरुवाती अग्रता बनाएका थिए । तर, शेर्पाका लागि विदेशी खेलाडी ओस्कारले २१औँ मिनेटमा बराबरी गोल गरे ।

प्रतिस्पर्धात्मक खेलमा ताप्लेजुङका प्रविण जवेगुले खेलको ४०औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाए । फेरि शेर्पाका रक्षक बसन्त ओझाले ५१औँ मिनेटमा गोल गर्दै बराबरी गरे ।

२-२ गोलको बराबरी खेलमा ताप्लेजुङका दिपेश लिम्बूले आकर्षक गोल गरेर ३-२ को स्थितिमा पुर्याए । तर, ताप्लेजुङकै आशिष लिम्बूले ६९औँ मिनेटमा आत्मघाती गोलको उपहार शेर्पालाई दिएपछि ३-३ गोलको फेरि बराबरी बन्यो ।

अन्ततः ताप्लेजुङको जितका लागि प्रविण जवेगुको गोल निर्णायक बन्यो । उनले ७७औँ मिनेटमा गोल गरेर समर्थकको मन पनि जिते । उनी पाँचथरकै खेलाडी भए पनि ताप्लेजुङबाट स्थान बनाएका हुन् ।

टाउकोमा चोट बोकेर पनि खेललाई निरन्तरता दिएका ताप्लेजुङका गोलरक्षक आकाश लिम्बू म्यान अफ दी म्याच बने । यो जितसँगै ताप्लेजुङले झापाको बिर्तामोड युनाइटेडसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ ।

भोलि पहिलो सेमिफाइनल खेल आयोजक पाँचथर एफसीले मोरङको डाँगीहाट एफसीसँग प्रतिस्पर्धा गर्नेछ । गोल्डकप विजेताले नगद ४ लाख ४ हजार ४४४ र उपविजेताले नगद २ लाख २ हजार २२२ सहित ट्रफी पाउने छ ।

Post Comments