News सिरिजंघा गोल्डकपमा उदयपुरको विजयी सुरुवात
रमेश समदर्शी

तेल्लोक (ताप्लेजुङ) । सिरिजंघा माविको खेलमैदानमा सोमबारदेखि सुरु तेस्रो सिरिजंघा गोलडकपमा उदयपुरको ब्रदरहुड एफसीले विजयी सुरुवात गरेको छ ।

आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई उसैको घरेलु मैदानमा ४-२ गोलअन्तरले पराजित गर्दै उदयपुर सेमिफाइनलमा प्रवेश गरेको हो । २-० गोलले पछि परेको अवस्थामा उदयपुरले उत्कृष्ट पुनरागमन गर्दै आयोजकलाई पराजित गर्यो ।

आयोजकका लागि सुरुवाती गोल खेलको ९ मिनेटमा कप्तान सुमन गुरुङले गरेका थिए । खेलको ४०औँ मिनेटमा शिशिर पनेरुले अग्रता दोब्बर बनाए । तर, २-० गोलको अग्रता जोगाउन नसक्दा घरेलु समर्थन पाएको आयोजकले नराम्ररी हार व्यहोर्यो ।

खेलको म्यान अफ दी म्याच बनेका उदयपुरका असन राईले खेलको ४२ र ४८औँ मिनेटमा गोल गरेर टिमलाई फर्काएका थिए । उनले नगद १ हजार ५ सय पाए ।

यस्तै, शैलेन्द्र नेपालीले खेलको ५९औँ मिनेटमा गोल गरे भने यसअघि आयोजकका सुसन थेवेले ५७औँ मिनेटमा बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गरेका थिए ।

तेअंसी सिरिजंघा सिं थेवेको ३१९औँ जन्म जयन्तीको अवसरमा आयोजित गोल्डकपमा भोलि (मंगलबार) दुई खेल हुनेछन् । दोस्रो क्वाटरफाइनल खेल देउराली स्पोर्टिङ क्लब इलामले कर्णसिं साेनाम स्मृति क्लब ताप्लेजुङसँग खेल्ने छ ।

यस्तै, खेवाङ स्पोर्टिङ क्लबले झापाको न्यू स्टार क्लबसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार २२२ र उपविजेताले नगद १ लाख १ हजार १११ पाउने छ ।

Post Comments