News झापा ११ ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी

फुङलिङ । साँघुरो जितका साथ झापा ११ एफसी यहाँ जारी चौथो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयुश घलानको गोल मद्दतले झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

भानुजन माविको मैदानमा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै झापा ११ अन्तिम चारमा स्थान बनाएको हो ।

दुवै टोलीले राष्ट्रिय खेलाडी मैदान उतारेको भए पनि अपेक्षित स्कोर हुन सकेन । खेलको ५ मिनेटमै झापा ११ का लागि आयुश घलानले गरेको गोल नै निर्णायक बन्यो । सुमित श्रेष्ठको एसिस्टमा आयुशले गोल गरेका हुन् ।

९० मिनेटको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुने सकेन । पुलिसको प्रहारलाई झापाका गोलरक्षक विवेक मगरले रोकेका थिए ।

खेलको प्लेयर अफ दी म्याच झापा ११ का सुमित श्रेष्ठ घोषित भए । उनले ७ हजार मूल्यबराबरको अलैँची पाए । झापाको जितसँगै परिचित प्रतिद्वन्द्वी फिदिम स्पोर्टिङ क्लब पाँचथरसँग भेट पक्का गरेको छ ।

लाखे जात्रा सञ्चालन समितिले आयोजना गरेको गोल्डकपको मंगलबार पहिलो सेमिफाइनल खेलमा साविक विजेता सिरहाको सल्हेश युथ क्लबले भारतको जर्जियन एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

Post Comments