News न्यू स्टार र देउराली तेस्रो सिरिजंघा गोल्डकपको सेमिफाइनलमा
रमेश समदर्शी
तेल्लोक (ताप्लेजुङ) । झापाको न्यू स्टार क्लब र इलामको देउराली स्पोर्टिङ क्लब तेल्लोकमा जारी तेस्रो सिरिजंघा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
 
मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा इलामले ताप्लेजुङको कर्णसिं सोनाम स्मृति क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलमा सुरुवाती अग्रता ताप्लेजुङले लिएको थियो । खेलको ११औँ मिनेटमा प्रविण जबेगुले गोल गरेका थिए । तर, अग्रता जोगाउन नसक्दा इलाम हाबी भयो । इलामका लागि पिकेश लोक्तामले खेलको २६ र कप्तान विनोद धमलाले खेलको ३१ र ५६औँ मिनेटमा गोल गर्दै सेमिफाइनल यात्रा तय गराए । धमला म्यान अफ दी म्याच बने ।
 
तेस्रो क्वाटरफाइनल खेलमा पुरानै प्रतिस्पर्धी खेवाङविरुद्ध टाइब्रेकरमा बाजी मारेको हो । निर्धारित समयको खेलमा दुवै टोलीले २-२ गोलको बराबरी गोल गरेका थिए । टाइब्रेकरमा ५-४ गोलअन्तरमा झापा विजयी भयो । खेलको ७ मिनेटमै झापाका विजु भुजेलले गोल गरेर अग्रता दिलाएका थिए । ९ मिनेटमा खेवाङका लागि आशिष लिम्बूले बराबरी गोल गरेका हुन् । उनी म्यान अफ दी म्याच बने । २६औँ मिनेटमा खेवाङका मनिराज लिम्बूले गोल गरेर अग्रता दोब्बर बनाएका थिए । तर, झापाका आशिष लिम्बूले ६६औँ मिनेटमा बराबरी गोल गरेका हुन् । टाइब्रेकरमा खेवाङका कप्तान क्रिस राईको प्रहार बाहिरिएको थियो ।
 
अब झापाले भोलि (बुधबार) उदयपुरको ब्रदरहुड एफसीसँग पहिलो सेमिफाइनल खेल खेल्नेछ । भोलि नै अन्तिम क्वाटरफाइनल खेल ललितपुरको सुनाकोटी सिटी एफसीसँग पाँचथरको साझा युवा क्लबले प्रतिस्पर्धा गर्नेछ । तेल्लोक स्पोर्टिङ क्लबले आयोजना गरेको गोल्डकपको फाइनल खेल मंसिर २९ गते हुनेछ । विजेताले नगद २ लाख २ हजार २२२ सहित आकर्षक ट्रफी पाउने छ ।
Post Comments