News गेटवेलाई फेका कपको उपाधि
गोलनेपाल

काठमाडौं । गेटवे एकेडेमीले १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । गेटवे पहिलोपटक उपाधि जित्दै फेका कपको नयाँ च्याम्पियन पनि बन्यो ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा गेटवेले पूर्व विजेता न्यु स्टार पोललाई १–० को झीनो गोलअन्तरले पराजित गर्यो । गेटवेका प्रतिक रायमाझीले निर्णायक गोल गरे । प्रतिक नै फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

मूलपानीमा तेश्रो स्थानका लागि भएको खेलमा अक्षरिकाले हाइली क्रिएटिभलाई २–१ ले हरायो । अक्षरिकाका निशान थापा ‘म्यान अफ द म्याच’ चुनिए । शीर्ष स्थान हात पार्ने टिमले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

प्रतियोगिताले १६औं संस्करण पार गर्दा कोटदेवी, करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी र गोठाटारले समान ३–३ पटक उपाधि जितेका छन् । न्यु स्टार पोल, कस्मिक इन्टरनेसनल एकेडेमी, ओरियन्टल एकेडेमी, ग्रिनविच एकेडेमी, नेक्सस इन्टरनेसनल एकेडेमी र कौस्तुभ समान १–१ पटक च्याम्पियन बनेका छन् ।

गेटवेका लक्ष्मण उप्रेतीले दोहोरो व्यक्तिगत उत्कृष्ट खेलाडीको उपाधि जिते । लक्ष्मण प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसंगै सर्वाधिक गोलकर्ता पनि बने । प्रतियोगिताभर लक्ष्मणले ७ गोल गरे ।

हाइली क्रिएटिभका रिसुक स्थापित उदीयमान खेलाडी घोषित भए । डिफेन्डरमा न्यु स्टारका दीप बोगटी, मिडफिल्डरमा अक्षरिकाका रविन मगर, गोलरक्षकमा न्यु स्टारका सोमित मण्डल र प्रशिक्षकमा गेटवेका सरिन नापित उत्कृष्ट चुनिए ।

विजेतालाई प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगाना, उपाध्यक्ष कृष्ण अधिकारी, प्रमुख सल्लाहकार टीकाराम पुरी, फेकाका अध्यक्ष श्रीराम दाहाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर २१ गतेदेखि सुरु प्रतियोगितामा २४ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Post Comments