News आर्मीलाई निराश पार्दै मनाङ फाइनलमा
गोलनेपाल

पोखरा । ए डिभिजन लिगको उपविजेता तथा दावेदार मध्ये एक त्रिभुवन आर्मी क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लब जारी १८औं आहा! रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा मनाङले आर्मीमाथि ३–२ को जित निकाल्यो । खेलमा शुरुवाती अग्रता मनाङले नै लिएको थियो ।

खेलको चौथो मिनटमै फ्लोरेन्ट कोआराको गोलबाट मनाङले खेलमा अग्रता बनाएको थियो । लगतै २९औं मिनटमा बिमल रानाले मनाङको त्यो अग्रता दोब्बर पारे ।

तर पहिलो हाफ हुनुभन्दा चार मिनट अघि आर्मीका कप्तान भरत खवासले पहिलो गोल गर्दै विभागीय टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर पनि पहिलो हाफसम्म मनाङले २–१ कै अग्रता कायम राख्यो ।

पोखरेली मैदानमा राम्रो प्रदर्शन गरेको मनाङका लागि ८१औं मिनटमा अन्जन बिष्टले आर्मीका गोलरक्षक र डिफेन्डरलाई बिट गर्दै बक्स भित्रबाट तेस्रो गोल गरे । त्यसको दुई मिनट लगतै दिप लामाले आर्मीका लागि दोस्रो गोल फर्काए तापनि अन्तिम समयमा आर्मी निराश बन्न पुग्यो ।

खेलमा मनाङका फ्लोरेन्ट म्यान अफ द म्याच घोषित भए । अब उपाधिका लागि मनाङले चैत्र १ गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग फाइनल खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments