News झापा एफसी सेमिफाइनलमा
गोलनेपाल

झापा । टाइब्रेकरमा शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै झापा एफसी राजगढ जारी वाइ वाइ जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्ना स्थित गणेश माध्यमिक विद्यालयको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा झापाले शनिश्चरेलाई ५–४ गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ झापाका लागि गणेश हेमरम र विशाल दर्जीले गोल गरेका थिए भने उता शनिश्चरेका लागि पेमा तामाङ्ग र सौरभ लिम्बुले गोल गरेका थिए ।

टाइब्रेकरमा झापा एफसी राजगढका बिशाल दर्जि, शुसिल मगर ,किस्मत लिम्बु ,गोकुल राजवंशी, अभिशेक गुरुङ्गले गोल गरेका थिए भने शनिश्चरेका लागि प्रमोद चौधरी, सौरभ लिम्बु, नानी लिम्बु, देबेन्द्र तामाङ्गले एक एक गोल गरे ।

खेलको म्यान अफ द म्याच झापा एफसी राजगढका गोलरक्षक सुमन लिम्बु घोषित भए । प्रतियोगितामा बिहीबारको पहिलो सेमिफाइनल खेल मुनाल क्लब चन्द्रगढी र आयोजक सृजनशिल युवा समाज बीच हुने छ ।

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैँया र उप–विजेताले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्र प्राप्त गर्ने आयोजक समितिका उपाध्यक्ष टेकेन भट्टराईले बताएका छन् ।

Post Comments