News आठराई अन्तिम चारमा
गोलनेपाल

फुङलिङ । झिनो अन्तरको जितका साथ आठराई गाउँपालिका, तेह्रथुम यहाँ जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भानुजन माविको खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलमा आठराईले रारा फुटबल क्लब, धनकुटालाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

खेलको ५३औं मिनटमा मिहाम लिम्बुले गरेको एक मात्र गोल आठराईलाई जित दिलाउन निर्णायक गोल बन्यो । म्यान अफ द म्याच भने आठराईका गोलरक्षक उमेश चौधरी घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत पुस ७ गते शनिबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बिटी फुटबल क्लब, तेह्रथुम र सगरमाथा युथ क्लब, मोरङबीच हुने आयोजकले जानकारी दियो ।

चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पुस ११ गतेका दिन हुनेछ ।

Post Comments