News सगरमाथा फाइनलमा, उपाधिका लागि चक्रघट्टीसँग भिड्ने
गोलनेपाल

फुङलिङ । सगरमाथा युथ क्लब, मोरङ यहाँ जारी प्रथम कञ्चनजंघा सेसेलुङ गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा सगरमाथाले पाँचथर फुटबल क्लब, पाँचथरलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि भानुजन माविको खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सगरमाथाका लागि ५०औं मिनटमा बिशाल भण्डारीले गोल गरेका थिए भने पाँचथरका लागि निर्देश राईले ८२औं मिनटमा गोल फर्काएका थिए ।

खेलमा सगरमाथाका बिशाल भण्डारी म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । सगरमाथाले अब पुस ११ गते हुने फाइनलमा चक्रघट्टी फुटबल क्लब, सुनसरीसँग उपाधिका लागि फाइनल खेल्नेछ ।

चासोक तङनाम पर्वको अवसर पारी कञ्चनजंघा फुङलिङ क्लब, फुङलिङ–४, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २ सय ८० रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार ८० रुपैयाँ प्राप्त गर्ने खेल संयोजक चन्द्र थेबेले बताए ।

Post Comments