News विश्व शान्ति क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । रोमाञ्चक जितका साथ विश्व शान्ति युवा क्लब, सालझण्डी यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको प्रिक्वाटरफाइनलतर्फ विश्व शान्तिले गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवललाई २–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

फर्साटिकर उमाविको खेलमैदानमा भएको खेलको ५२औं मिनटमा आशिष ज्ञवालीको गोलबाट गोर्खा ब्वाईजले खेलमा अग्रता बनाएको थियो । तर ७०औं मिनटमा निर बहादुर थापाले विश्व शान्तिका लागि बराबरी गोल फर्काए भने ८७औं मिनटमा मिनल मगरले निर्णायक गोल गर्दै टोलीको जित पक्का गरे ।

खेलमा निर्णायक गोल गरेका मिलन मगर नै खेलको म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तरगत पुस ११ गते बुधबारको प्रिक्वाटरफाइनल खेल सुनौलो संगम युवा क्लब, देवीनगर र झरना स्पोर्टस क्लब, कुञ्जलापुरबीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

 

Post Comments