News साविक विजेता सुनौलो संगमको विजयी शुरुवात
सुरज राना मगर

फर्साटिकर । यहाँ जारी शुद्धोधन गाउँपालिका ११औं फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगितामा साविक विजेता सुनौलो संगम युवा क्लब, देवीनगरले विजयी शुरुवात गरेको छ ।

बुधबार भएको पिक््वाटरफाइनलतर्फ सुनौलोले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई ३–२ ले हराउँदै विजयी शुरुवात गरेको हो । साथै यो जितसँगै सुनौलो क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

फर्साटिकर उमाविको खेलमैदानमा भएको खेलको ३३औं मिनटमा मोहन थापाको गोलबाट सुनौलोले खेलमा अग्रता लिएको थियो । ३९औं मिनटमा रितेश मल्लले त्यो अग्रता दोब्बर पारे । ६३औं मिनटमा मल्लले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो र निर्णायक गोल पनि गरे ।

उता ७९औं मिनटमा रोशन थापाले झरनाका लागि पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । अन्तिमतिर कमल भट्टराईले झरनाका लागि दोस्रो गोल थपे तापनि टोलीको हार भने टार्न सकेनन् ।

खेलमा सुनौलोका जितेश गुरुङ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत पुस १२ गते बिहीबारको अन्तिम प्रिक्वाटरफाइनल खेल आयोजक फर्साटिकर युवा क्लब, फर्साटिकर र न्यु युथ युनियन क्लब, पाल्पाबीच हुने खेल संयोजक अमृत खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोधन–४, फर्साटिकरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,७५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,३५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही पुस २१ गतेका दिन हुनेछ ।

 

Post Comments