News तेस्रो रुद्रपुर कप शुरु
सुरज राना मगर

अस्नैया । रुदूपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको छैठौं वार्षिकोत्सवको अवसर पारी पुस २४ गते मंगलबारदेखि तेस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएका दुई खेलहरुमा आयोजक रुद्रपुर युवा क्लब र मुर्गिया फुटबल क्लबले विजयी शुरुवात गरे ।

कञ्चन–४, सराकारी बोरिङ स्थित रुद्रपुर माविको खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक रुद्रपुरले फर्साटिकर एकेडेमीलाई टाईब्रेकरमा २–१ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ रुद्रपुरका लागि सौगात गुरुङ्गले गोल गरेका थिए भने फर्साटिकरका लागि कपिल पुन मगरल गोल गरेका थिए । खेलमा रुद्रपुरका गोलरक्षक कुशल थापा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै रुद्रपुर प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै दोस्रो खेलमा मुर्गियाले गौतम बुद्ध सामुदायिक विकास केन्द्रलाई शून्यका विरुद्ध १ गोलले हरायो । मुर्गियाको जितमा निशान्त न्यौपानेले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच पनि मुर्गिया कै निशान्त न्यौपाने घोषित भए । यो जितपछि मुर्गिया पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत पुस २५ गते बुधबार १२ बजे हुने पहिलो खेलमा हिमालयन सामुदायिक विकास केन्द्र र डिएस युनाइटेड भिड्ने छन् भने २ बजे हुने दोस्रो खेलमा फर्साटिकर युवा क्लब र सुनगाभा विकास केन्द्र भिड्ने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा, आयोजक क्लबका अध्यक्ष अर्जुन दर्लामी लगायतका अतिथीहरुले संयुक्त रुपमा गरेका थिए ।

आउँदो माघ २ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments