News उत्कृष्ट जितका साथ लालीगुराँस र माङसेबुङ सेमिफाइनलमा
गोलनेपाल

मानेभञ्ज्याङ । उत्कृष्ट जित हात पार्दै लालीगुराँस नगरपालिका, तेह्रथुम र माङ्सेबुङ गाउँपालिका, इलाम यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलमा लालीगुराँसले मोलुङ्ग गाउँपालिका, ओखलढुङ्गालाई शून्यका विरुद्ध ४ गोलले हरायो । लालीगुराँसका लागि सुजन तामाङ, असिम लिम्बु, संजिव लिम्बु र सलोन गुरुङ्गले गोल गरे । खेलमा लालीगुराँसका असिम लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

मंगलबार नै भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा माङ्सेबुङले खिजिदेम्बा गाउँपालिका, ओखलढुङ्गालाई ६–१ को फराकिलो अन्तरले हरायो । माङ्सेबुङको जितमा एलेन लिम्बुले चार गोलसहित ह्याट्रिक पूरा गरे । त्यस्तै प्रबिन साम्पाङ र जोन राईले थप एक–एक गोल गरे ।

पराजित खिजिदेम्बाका लागि मिजल सुनुवारले एक मात्र सान्त्वना गोल फर्काए । खेलमा एक्लैले चार गोल गरेका माङ्सेबुङका एलेन लिम्बु म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ५ हजार हात पारे ।

प्रतियोगिता अन्तर्गत पुस २५ गते बुधबार दुई सेमिफाइनल खेलहरु हुनेछन् । १२ बजे हुने पहिलो सेमिफाइनलमा मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा र लालीगुराँस नगरपालिका, तेह्रथुम भिड्ने छन् भने २ बजे दोस्रो सेमिफाइनलमा सिद्धिचरण नगरपालिका, ओखलढुङ्गा र माङ्सेबुङ गाउँपालिका, इलाम भिड्ने छन् ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ । फाइनल खेल पुस २७ गतेका दिन हुनेछ ।

Post Comments