News न्यु सिर्जनालाई दोस्रो नव टिकुलीगढको उपाधि
सुरज राना मगर

टिकुलीगढ । स्व. गंगादेवी गुरुङ स्मृति दोस्रो नव टिकुलीगढ कप सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि न्यु सिर्जना युथ क्लब, करौजियाले जितेको छ । फाइनलमा अमुवा फुटबल क्लब, अमुवालाई शून्यका विरुद्ध २ गोलले हराउँदै न्यु सिर्जना च्याम्पियन बनेको हो ।

बुटवल–१४ स्थित टिकुलीगढ माविको खेलमैदानमा भएको खेलमा न्यु सिर्जनाका लागि कप्तान प्रवेश क्षेत्री र बिशाल सुनारले गोल गरे । विजेता बनेको न्यु सिर्जनाले उपाधिसहित नगद ४४,४४४ रुपैयाँ हात पार्यो भने उपविजेता अमुवाले २२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

न्यु सिर्जनाका गोलरक्षक बिष्णु पल्ली मगर फाइनल खेलको म्यान अफ द म्याच चुनिए । अन्य व्यक्तिगत विधातर्फ अमुवाका सुजन राना प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार न्यु सिर्जनाका प्रवेश क्षेत्रीले हात पार्दा उदीयमान खेलाडी न्यु राईज क्लबका इन्द्र भण्डारी घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक नव टिकुलीगढ युवा क्लबका अध्यक्ष बिजय गुरुङ, खेल संयोजक विजय गुरुङ, मुख्य प्रायोजक बिक्रम गुरुङ लगायतले पुरस्कृत गरेका थिए ।

नव टिकुलीगढ युवा क्लब, तिलोत्तमा–१४, टिकुलीगढको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल २६ टोलीहरुले सहभागिता जनाएको आयोजक क्लबकी सचिव शान्ती पुनले जानकारी दिईन् ।

Post Comments