News मानेभञ्ज्याङ र माङ्सेबुङ उपाधिका लागि भिड्ने
गोलनेपाल

मानेभञ्ज्याङ । घरेलु टोली मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा र माङ्सेबुङ गाउँपालिका, इलाम यहाँ जारी प्रदेश स्थानीय तह अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनलतर्फ मानेभञ्ज्याङले लालीगुराँस नगरपालिका, तेह्रथुमलाई शून्यका विरुद्ध २ गोलले हरायो । मानेभञ्ज्याङका लागि राजु राई र अरबिन्द राईले गोल गरे । खेलमा मानेभञ्ज्याङका राजु राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार हात पारे ।

बुधबार नै भएको दोस्रो सेमिफाइनलमा माङ्सेबुङ गाउँपालिकाले सिद्धिचरण नगरपालिका, ओखलढुङ्गालाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भयो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

टाईब्रेकरमा भने माङ्सेबुङले सिद्धिचरणमाथि ५–३ को जित निकाल्यो । खेलमा माङ्सेबुङका प्रबिन साम्पाङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पनि पुरस्कार वापत नगद ५ हजार हात पारे ।

अब यही पुस २७ गते शुक्रबार हुने फाइनलमा मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गा र माङुसेबुङ गाउँपालिका, इलाम उपाधिका लागि भिड्ने छन् ।

मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुङ्गाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले जनही १–१ लाख पाउने आयोजकले जनाएको छ ।

Post Comments