News कोभिड–१९ः सरकारलाई सहयोग गर्न एन्फा तयार
गोलनेपाल

काठमाडौं । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) पनि अघि सरेको छ ।

भाइरसका कारण विश्व भरि हजारौंको संख्यामा मानिसहरुको मृत्यु भईरहेको र संक्रमितहरुको संख्या लाखौंका रुपमा बृद्धि भइरहेको अवस्थामा नेपालले पनि भाइरसका कारण पर्न सक्ने सम्भावित खतरालाई मध्यनजरमा राख्दै उच्च सतर्कता अपनाउन प्रयासरत छ ।

यसै सन्दर्भमा एन्फाले आइतबार प्रेस विज्ञप्ती निकाल्दै सरकारलाई आवश्यक परे सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको छ । प्रवक्ता किरन राईद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा आवश्यक परेको खण्डमा एन्फाले स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आफू मातहतका भौतिक संरचनाहरु अस्थायी रुपमा उपयोग गर्न सक्ने बताएको छ ।

जसअन्तरगत एन्फाले ललितपुर, बुटवल, धरानमा रहेका एन्फा एकेडेमीका होस्टेलहरु तथा रौतहटमा रहेको महिला एकेडेमीहरुलाई आवश्यक परेको खण्डमा अस्थायी रुपमा क्वारैन्टाईन र आइसुलेसनका लागि प्रयोग गर्न सकिने जनाएको छ ।

साथै एन्फाले यो मानवीय विपदमा सबै खेलकुद तथा अन्य निकायहरु एकजुट भएर लाग्न समेत सबैमा अपिल समेत गरेको छ ।

 

Post Comments